कहिल्यै नफर्किने गरी गयो लाहुरे छोरो, बुवा धरधरी रुदै भन्छन् : ‘कलिलै उमेरमा सधैंलाई छोडेर गयो। अब रुनु सिवाए अरु के छ र?’




प्युठान- दुई दशक अघिसम्म लाहुरे छुट्टी आएको खबरले गाउँभरि नै हल्लीखल्ली मच्चिन्थ्यो। ‘लाहुरे आएको छ रे! कस्तो रैछ लाहुरे?’ सोधीखोजी चल्थ्यो। लाहुरेको छोरो लाहुरे भएको छ भने त परिवारको रवाफै अलग। रहर या बाध्यताले फौजमा भर्ती भएर घर फर्कंदाको खुसी लाहुरेमा पनि कहाँ कम्ती हुनु र! बिछट्टै उत्साह, सान र स्फुर्ती लिएर फर्केका हुन्थे। अझै पनि गाउँघरतिर वृद्ध बाआमाहरु ती क्षणहरु सम्झन्छन्।

लडाइँ या तालिममा पाउने दुःख जति छ, त्योभन्दा कैयौं गुणा मानसम्मान छ लाहुरेको। त्यसैले, थुप्रै युवक लाहुरे बन्ने सपना बोकेर हुर्कन्छन् र जवानीले पाइला टेक्दानटेक्दै छाती नपाउन क्याम्पतिर दौडन्छन्। लाहुरे बनेपछि सानन, मान र धन हुने भएपछि धेरै युवाको मनमा लाहुरे बन्ने हुटहुटी देखिन्छ। त्यसैले त युवाहरु भर्तीका लागि चाहिने उमेर बाँकी हुँदासम्म हरेस नखाई भर्ती लागिरहन्छन्।

प्युठान नगरपालिका- ३ विजयनगर सेपुङका १९ वर्षीय पर्वत कुँवरलाई पनि लाहुरे हुने हुटहुटीले छाडेन। भारतीय सैनिक हुने सपना बोकेर उनी तयारी गर्न थाले। भर्ती खुलेको थाह पाउनासाथ छाती नाप्न पुगिहाल्थे। सैन्य सेवामा प्रवेश गर्न उनी दुई पटकसम्म चितवन पुगे तर त्यहीँबाट घर फर्किए। दुई पटक विफल हुँदासमेत उनको फौजी रहर मरेन। पर्वतले छाती फुलाउन छाडेनन्। दुईदुई पटक भारतीय सैनिकमा भिड्दा छनोट चरणबाटै बाहिरिएका उनी १२ कक्षा पढ्दै गर्दा फेरि आर्मीमा भिड्न नेपालगन्ज पुगे। तेस्रो पटकको प्रयासमा भने उनी सफल भएरै छाडे। गत बैसाखमा भारतीय सैनिकमा पर्वतको नाम निस्कियो। मेहनत गरे अनुसार भारतीय सैनिकमा नाम निस्कँदा घरभरि खुसी छायो।तर, उनीहरुको त्यो खुसी तीन महिना पनि टिकेन। भारतको बनारसमा सैन्य अभ्यासमा रहेका पर्वतको रेलबाट खसेर ज्यान गयो।

कार्यक्षेत्रमा खटिएर भारतीय सेनाको जागिरे जीवन बिताउन नपाउँदै मृ*त्युको खबर सुन्नुपरेपछि कुँवर परिवार यतिबेला शोकमा डुबेको छ। सैनिकमा नाम निस्केपछि आफ्नो छोरा तालिमकै क्रममा रहेको उनका बुवा चन्द्र कुँवरले बताए। ’छोराले सैन्य तालिम लिँदै थियो, उसले फोन गरेर तालिममै छु बुवा म ठिकै छु भनेको थियो,’ भावविह्वल हुँदै उनले भने,’ रेलमा परेर ज्यान गयो भन्ने सुन्नुपर्‍यो।’ भारतीय सैन्य कार्यालयले छोराको मृ*त्युको खबर सुनाएको उनी बताउँछन्।

मुक्ति मावि राटामाटामा कक्षा १२ मा पढ्दापढ्दै तीन महिनाअघि पर्वत भारतीय सेनामा भर्ती भएका थिए। पर्वत सानैदेखि साहसिला थिए। सबैसँग मिठो बोल्ने, मिलनसार र मिजासिला। साथीभाइबीच कम बोल्ने तर ठिक कुरा मात्र बोल्ने। धेरै हिँडडुल नगर्ने, झैझगडादेखि टाढै रहने। त्यही भएर पनि बुबाआमालाई कान्छा छोराप्रति विश्वास र भरोसा थियो।

’छोरो फौजी भएपछि अब दु:खका दिन गए भन्ने लागेको थियो, तर होइन रहेछ,’ आँखा टिलपिल पार्दै बुवा चन्द्र भन्छन्, ‘कलिलै उमेरमा सधैंलाई छोडेर गयो। अब रुनु सिवाए अरु के छ र?’ परिवारका दुई भाइ छोरामध्ये जेठा कैलाश भने प्युठानमा गाडी चलाउँछन्। पर्वत भारतीय फौजमा भर्ती भएपछि बुवा इन्द्र मजदुरीका लागि भारत जान छाडिसकेका थिए। सुखीको महसुस गर्न नपाउँदै कुँवर परिवार यतिबेला शोकमा छ। ‘बुढेसकालमा सुख पाइएला भन्ने थियो। तर लाहुरे छोरासँगै खुसी पनि एकाएक बिलायो,’ बुवा चन्द्र विलौना गर्छन्। श्रोत नेपाल लाइभ बाट